स्वागत छ बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरमा

रोजगारीमा करिब ६६ प्रतिशत र देशको अर्थतन्त्रमा करिब ३३ प्रतिशत योगदान रहेको कृषि प्रधान देश नेपालको अर्थतन्त्रमा अब बैदेशिक रोजगारको कमाइ (Remittance)ले उछिनेको छ । यसो हुनुमा शिक्षित जनसंख्यामा बृद्धि, पढेकाले कुटो-कोदालो-हलो छुन हुंदैन भन्ने धारणाको विकास हुनु, देशमा उद्योग धन्दा खुलेर रोजगारी बढ्नुको सट्टा द्बन्दमा फस्नु, हरेक क्षेत्रमा इमान्दारिता घट्दै जानु, कृषिका पूर्वाधारहरु मल (प्राङ्गारिक/रासायनिक), सिंचाइ, प्रविधी (ज्ञान र शिप), बजार, आदिको सुनिश्चितता नहुनु, तिब्र शहरीकरण र जग्गा घडेरीकरण, बढ्दो जनसंख्याका लागि बाली सघनतामा बृद्धि, पशुपालनमा तिब्र गतिले ह्रास, खेतीले माटोवाट लिएको मलको अनुपातमा जमिनमा सन्तुलित मलको प्रयोग नहुनाले जमिनको उर्बराशक्तिमा ह्रास, संचार र यातायातको विकास र विश्व व्यापार संगठनको नीति अनुसरणका कारण विश्व बजारका उत्पादनहरु सदस्य राष्ट्रहरुमा जताततै जान सक्ने प्रावधान रहनु र नेपालको भौगोलिक कठिनाइका कारण धेरै काम मेसिनले गर्ने समयमा मानिस र पशुले नै गर्न पर्नु, स्वदेशमा उत्पादित कृषिजन्य वस्तु पनि यातायातको अभावले व्यापारीले धेरै टाढा टाढाका देश (समुद्रमार्ग) वाट ल्याएर बेच्दा पनि यहांको भन्दा सस्तो हुनु मुख्य कारणहरु हुन ।

यिनै कारणले नेपालको धेरै खेति हुने गरेको जमिन बांझिएको र जति जग्गामा खेति भएको छ त्यसमा पनि उत्पादनका आवश्यक तत्वहरुको सन्तुलित प्रयोग नभएकाले उत्पादन ज्यादै कम छ । जुनसुकै समस्या सुल्झाउन पनि विषादि कै प्रयोग गरिनुले उत्पादित बस्तुको गुणस्तर पनि कम भएकाले उपभोक्ताहरुको रोजाइमा क्रमश: बैदेशिक उत्पादन नै पर्दैछन। तसर्थ कृषिमा कम्तिमा स्नातक तहको शिक्षा हासिल गरेका व्यक्तिहरुले वा उनिहरुको प्रत्यक्ष निगरानीमा अनुभवी किसानहरुले नै कृषि पेशा गर्नुपर्छ । यसका लागि देशको राजनैतिक, नैतिक वातावरण सुध्रिन अपरिहार्य छ ।

बाली बिरुवा उत्पादन प्रकृया र यसमा आइ पर्ने विविध समस्या समाधानमा अनुसरण गरिने प्रविधिका आधारमा आजको कृषिका आयाम पनि धेरै भएका छन्: ब्यावसायिक उत्पादन (अत्यधिक परिमाणमा आधारित), सुरक्षित  उत्पादन (आइपीयम) र प्राङ्गारिक उत्पादन । आजको युगको कृषि योजनावद्ध हुनु पर्छ । कुन क्षेत्रमा कुन बाली सबैभन्दा उपयुक्त हो ? सोको चक्लाबन्दी गरी त्यसका लागि आवश्यक उत्पादन सामग्री के के हुन,  कहिले, कति परिमाणमा चाहिने हो,  त्यहाँवाट उत्पादित बस्तु कहाँ कति मुल्यमा बिक्री हुने हो ? यी सबै कुरा कागज/योजनाबद्ध रुपमा उत्रिनु पर्छ अनि सम्बन्धित पक्षहरु (स्वदेशि वा विदेशि) बिच सम्झौता हुनुपर्छ । नेपालको अधिकाँश भूभागमा रासायनिक पदार्थ प्रयोग नभएको हुंदा यहां प्राङ्गारिक उत्पादन गर्न सकिन्छ र यसलाइ विदेशमा बेचेर धेरै मूल्य लिन सकिन्छ भने अरु विधी अनुसार उत्पादन गरेर स्वदेशी माग पुरा गरी धेरै आम्दानी पनि गर्न सकिन्छ । यसरी उत्पादन गरिने बाली बिरुवामा आउन सक्ने रोग, किरा, झारपात आदि समश्याले सरदर ३० प्रतिशत उत्पादन घटाउने गरेको तथ्याङ्क छ । बालीका शत्रु चरा मुसा बाँदर बंदेल .... लगायतले हाल अरु समस्या थपेर कृषि पेशा नराम्ररी फसेको छ । यी समश्या पहिचान यस सम्बन्धी अध्ययन र त्यसको समाधान सम्बन्धी परामर्शजन्य सेवाका लागि यस प्रयोगशालाको स्थापना भएको हो । मिति २०४९/०४/०१ मा कैलाली जिल्लाको धनगढीमा खुलेको यस कार्यालय २०६१/०९/०१ मा कञ्चनपुर जिल्लाको सुन्दरपुरमा सरेर सुदुर पश्चिम प्रदेश भरीका किसान र यससंग सम्बन्धित संस्था मार्फत सेवा प्रवाहमा संलग्न छ ।

केशब दत्त जोशी

नि.का.प्र.

बालि संरक्षण प्रयोगशाला

सुन्दरपुर, कंचनपुर

 

For further information, please contact us