स्वागत छ बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरमा

नेपाल कृषि प्रधान देश भए तापनि पछिल्लो समय कृषि क्षेत्र विभिन्न संरचनात्मक, प्राविधिक तथा सामाजिक चुनौतीहरूबाट प्रभावित हुँदै गएको छ। राष्ट्रिय स्तरमा कृषि क्षेत्रमा करिब दुई तिहाइ जनशक्ति संलग्न भए पनि उत्पादन तथा उत्पादकत्व अपेक्षाकृत न्यून रहेको छ। वैदेशिक रोजगारबाट प्राप्त हुने आम्दानी (Remittance) ले अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्दै जाँदा कृषिप्रति आकर्षण घट्दै गएको छ।

सुदूरपश्चिम प्रदेशको सन्दर्भमा यी चुनौतीहरू अझ स्पष्ट रूपमा देखिन्छन्। यस प्रदेशमा कृषियोग्य जमिनको पर्याप्त उपलब्धता हुँदाहुँदै पनि सिंचाइको अभाव, गुणस्तरीय मल तथा बीउको सीमित पहुँच, बजार अस्थिरता, प्रविधिको कमी, तथा दक्ष जनशक्तिको अभावका कारण उत्पादन क्षमताको पूर्ण उपयोग हुन सकेको छैन। साथै, युवा जनशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा खेतीयोग्य जमिन बाँझो रहने प्रवृत्ति बढ्दो छ।

यसका अतिरिक्त, बाली उत्पादन प्रणालीमा रोग, कीरा, झारपात तथा अन्य जैविक तथा अजैविक कारकहरूले औसत २५–३० प्रतिशतसम्म उत्पादन क्षति पु¥याउने गरेको तथ्यले देखाएको छ। सुदूरपश्चिमका विभिन्न भौगोलिक क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रभाव, नयाँ रोग तथा कीराको प्रकोप, तथा वन्यजन्तु (जस्तै: बाँदर, बन्देल, मुसा आदि) को समस्या पनि कृषकहरूका लागि प्रमुख चुनौतीका रूपमा देखा परिरहेका छन्।

यी समस्याहरूको दीगो समाधानका लागि आधुनिक, वैज्ञानिक तथा वातावरणमैत्री कृषि प्रणालीको विकास आवश्यक छ। विशेषगरी, एकीकृत शत्रुजीव व्यवस्थापन (IPM), प्राङ्गारिक उत्पादन प्रणाली, र सुरक्षित विषादी प्रयोगको प्रवर्द्धनमार्फत कृषि उत्पादनलाई गुणस्तरीय, प्रतिस्पर्धात्मक तथा दिगो बनाउन सकिन्छ। नेपालको धेरै भूभागमा न्यून रासायनिक प्रयोग हुने भएकाले प्राङ्गारिक कृषि विकासको ठूलो सम्भावना रहेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य प्राप्त गर्न सहयोग पुर्‍याउन सक्छ।

यसै सन्दर्भमा, बाली संरक्षण प्रयोगशाला, सुन्दरपुर, कञ्चनपुरले सुदूरपश्चिम प्रदेशभरिका कृषक, प्राविधिक तथा सरोकारवालाहरूलाई रोग तथा कीरा पहिचान, निदान, अनुसन्धान, जैविक तथा रासायनिक व्यवस्थापनसम्बन्धी परामर्श तथा तालिम सेवा प्रदान गर्दै आएको छ। यस प्रयोगशालाको स्थापना मिति २०४९/०४/०१ मा कैलाली जिल्लाको धनगढीमा भई, मिति २०६१/०९/०१ देखि कञ्चनपुरको सुन्दरपुरमा स्थानान्तरण भई हाल प्रदेशस्तरीय प्रयोगशालाको रूपमा क्रियाशील रहेको छ।

अन्त्यमा, कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षा सुनिश्चितता तथा कृषकहरूको आय वृद्धि गर्ने लक्ष्य प्राप्तिका लागि यस प्रयोगशालाबाट प्रदान गरिने सेवा, प्रविधि तथा ज्ञानको अधिकतम उपयोग गर्न सम्पूर्ण कृषक, प्राविधिक तथा सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछु।


हेम राज पन्त
बाली संरक्षण निर्देशक
बाली संरक्षण प्रयोगशाला
सुन्दरपुर, कञ्चनपुर

For further information, please contact us